Total Pageviews

Monday, July 31, 2017

Great Himalaya Trail (Day-20) Deuli To Satthaple(Humla)

Day-20
Great Himalaya Trail
Deuli To Satthaple(Humla)
31 July 2016


हुम्लाको सातथाप्लेमा प्याँस मेटाउनलाई रेडबुल हातमा लिनु हुँदै किशोर सर र बिशाल भान्जा

उठ्न मन नलागि नलागि उठ्यौ 0630Hrs। सिमसिम पानी परिरहेको थियो। देउलीबाट पुर्वतिर नियाल्दा पुरै कुहिरोले ड्याम्मै छोपेको थियो केहि देख्न सकिएन। पश्चिम तिर नियाल्दा तल देवकोटा बडा र पुछारमा लोतीखोला अनि पिपल्याङ गाउ देखिएको थियो।हिजो उक्लिदा लोथ बनाए बाटो बिहान नियाल्दा गजबको सौन्दर्य देखिएको थियो। बस्ति पुरै हरियालीले छाता ओढेर बस्दाको दृष्य लोभ लाग्ने देखिन्थ्यो। चिया र वाई वाई खाजा खायौ। 4600 रुपियाँ तिर 0730Hrs छाता ओढ्दै बाटो लाग्यौ।

पातलो जङ्गलको ठाडो बाटो पछ्याउदै हिड्यौ। सेतो कुहिरो हुल डाडाबाट उड्दै अर्को डाँडा तिर गएका देखिन्थे। हिड्न थालेको एक घण्टामा बोहोर बडा गाउ देख्न थाल्दा तेर्स्रो मुलबाटो शुरु भयो। गाईहरु चरिरहेका देखिन्थे भेटिन्थे। हिडेको २ घण्टामा बोहरा बडामा पुग्यौ। पुरानो शैलीमा बनेको बाग्लो बस्ति रहेछ। धान खेती रहेछ। पानी मुसलधारे पर्न थाल्यो। स्याँउ गजबले फलेको थियो। हाँगै नुहुने गरि। खाने बेला भएको थिएन । तर पनि किन्न माग्यौ। पैसा बिना टिपेर ल्याईदिए । पानी नबसुञ्चेल स्याँउ टोक्दै बस्यौ। छाताले पानी छेक्ने  भए पछि हिलो बाटोमा हिड्न थाल्यौ। वतावरण चारै तिर शान्त थियो। सिमिसिम पानी र जंगलको दृष्य बाहेक अन्य दृष्यले खलबल गरेको थिएन। तल पुछारमा खोला बगेको स्वाँवाँवाँ आवाज बाहेक अरु आवाजले हाम्रो हिडाईलाई बिथोल्न खोजेको थिएन्। चारै तिर हरियाली जङ्गल र उडिरहेको सेतो कुहिरो नियाल्दै रमाउदै चुपचाप हिडि रहयौ।  

बोहरा बडा गाउ देखि ज्याँ खोला सम्म मुलबाटो तेर्स्रो रहेछ। प्राकृति सौन्दर्य भनेको जताततै जङ्गल देखिन्थ्यो त्यहि हेर्दै रमाउदै हिलो बाटो उफ्रिदै 1130Hrs पुग्यौ ज्याँ खोलामा। पसिना र पानीले भिजेर हल्का लोथ भएका थियौ। रेड बुल पियौ त्यस पछि तातो चिया पियौ। छेवैमा सङ्लो खोला बग्दै थियो। बाटामा हिलो गजगज थियो। खच्चर मुगु समान धुँवानीका लागि घण्टि बजाउदै गईरहेको देखिन्थ्यो।  खाना खायौ। स्वादिष्ठ थिएन। मासको तातो दाल गजबले पियौ।  अन्तिम गाउ भनेको नै ज्याँ खोला रहेछ। खाना खाएको 860 रुपैयाँ तिर बाक्लो जङ्गल भित्र नागबेली परेका  उकालो कुईनेटामा  कछुवा गतिमा हिड्न थाल्यौ।  गाई भैसी ठाउ ठाउको पाटामा चरिरहेका देखिन्थे। बिहान हिडे देखि पानी रहेको छैन्।    


हाम्रो सहयोगी मोतीलाल भाईले जंखेलीको पास नकटे सम्म यस्तै उकालो छ भने। छाता ओड्दै उकालोमा चुपचाप लुरुलुरु हिडि रह्यौ।  पसिना र पानीले ज्यान गलाई सकेको थियो। एउटा थुम्का उक्ल्यो अर्को  थुम्का को उकालो हाजिर भई हाल्थ्यो। ठाउ ठाउमा हिड्ने बाटोमा मुल फुटेर पानी बगिरहेको थियो। सल्ला गुराँस र मालिङ्गो को बोटले भरिएको जङ्गल थियो। पानीमा भ्यागुते उफ्राई गर्दा गर्दा गोडा पनि थाकि सकेको थियो। थुम्का पनि गनि रहेका थियौ। ६ वटा थुम्का उक्लि सक्दा थाकेर हत्तु र बेहोस हुने अवस्थामा पुगेका थियौ । पानी पियौ। आराम गर्यौ सल्लाघारी भित्र। नुहाएको झै खलखल पसिनाले ज्यान भिजि सकेको थियो। लुगा निचोर्यौ।  अन्तिम ठाँडो उकालो हेर्दै हिडिरहदा हिउदमा हिँउले र बर्षामा पानीले पखालेर राखेको नाङ्गा पहाड देखिन थाल्यो। सजिलै संकेत दिदै थियो कि सातथाप्ले नजिक आउदै छ भनेर। नभन्दै आउला आउला भन्दै झ्याँप्पै आईहाल्यो। गजबको ठाँउ रहेछ सातथाप्ले। खुल्ला चारै तिर देखिने। खुशीले उफ्रियौ। सातथाप्ले उक्लिदा थाकेर लम्फु भईसकेका थियौ। 

चंखेली पास मोतीलाल भाईले त्यही हो भन्दै हातले ईसारा गर्दै देखाए ।कुहिरोले ड्याम्म बाँधेर राखेको थियो चंखेलीको शिरलाई। चंखेलीको ज्यान मात्र देखिएको थियो। । घडी हेर्दा दिउसोको ४ बजेको थियो। रेडबुल पियौ। चिया पिउदै पसिनाले भिजेको लुगा निचोर्यौ। चिया पिए पछि । सुकिलो लुगा फेर्यौ। तातो वाई वाई खायौ। आगोको राँपमा ज्यान न्यानो बनाउदै किशोर सर र बिशाल भान्जाले अर्ग्यानिक ट्वाँक र म अनि सागर भाईले चिया पिउदै साहु साहुनी संग गफगाफ गर्यौ। 

साहुनीले भन्दै थिईन्। जे काम गर्दा पनि महेश सर भन्थे। सर भन्नुको कारण सोधे मैेले। मेरो माईती गमगढी उहाँको हुम्ला देउली। म पढ्ने स्कूलमा शिक्षक थिए उहाँ। कक्षा ८ पढ्दै गर्दा हाम्रो लभ बस्यौ भागेर बिहे गर्यौ। शिक्षक पेशा छोडेर सातथाप्ले सेन्टर भएकाले यहि ठाउमा होटल चलाएर बसेका छौ। हिँउदमा हिँउले पुरै ढाक्छ यो ठाउमा। गत साल हिँउ पर्दा पनि यतै बस्यौ। अब यो सालको हिँउ पर्ने याममा पनि हामी यतै बस्छौ हगि महेश सर मायालु लवजमा भनिन्। पिठो मुस्दै थिईन् साहुनी बहिनी।  मैले फ्याँट्टै भने ओहो शिव र पार्वतीको जस्तै प्रेम कहानी रहेछ।  बस्ने ठाउ पनि क्याँ गजबको छ यो सातथाप्ले। कसैले पनि डिस्टब नगर्ने। राम्रो ठाउ रोज्नु भएछ । हामी सबै हाँस्यौ। बाहनमा पाक्दै गरेको तातो सिङ्गडा खायौ। ज्यान अडिलो बनायौ।  मुसलधारे पानी पर्दै थियो बाहिर । 

यि युगल जोडिले पर्यटकका लागि सफा ब्यावस्थित कोठा र चर्पी अनि फडान गरि बन्दा र आलु खेती पनि गरेका रहेछन्। होटलको बार्दलीमा  बस्दै चंखेलीको शिरमा अंगालो हाल्दै गरेको कुहरोले चुम्वन गरि रहेको थियो। हामी क्यामरा हातमा लिई दाउ हेर्दै बस्यौ। तर अँह! छोड्दै छोडेन् कुहिरोले । सातथाप्लेको चिसो र रमणिय वतावरणमा हामी रमाईरहेका थियौ। हामीलाई यात्राको तागद दिई रहेको छ। देउली देखि सातथाप्लेको ट्रेकिङ रुट साहासिक रहेछ हैन बिशाल भान्जा र किशोर सरलाई भने मैले। झमझम पानी परिरहेको छ। गोधुली सन्ध्याले पनि स्वागत गर्न लाग्दै छ। सायद भोलि बिहान चै खुल्छ होला । चंखेलीको शिर भोलि बिहान हेरौला भन्दै खाना खाना लाग्यौ। साँझको खाना खायौ। कोठामा टेण्ट टाँगेका थियौ। आफ्नो आफ्नो सिल्पिङ्ग ब्याग भित्र लुटुपुटु भयौ।  



सातथाप्ले हिड्न अगाडी हुम्लाको देउलीमा। यसै होटलमा हामी बास बसेका थियौ। 



सातथाप्ले पुग्नका लागि किशोर सर उकालो बाटोमा उक्लिदै

सातथाप्ले पुगे पछि  हर्षित मुद्रामा म । मेरो पछाडि हाम्रो सहयोगी मोतिलाल बोहोरा भाई। चंखेलीको लेकलाई कुहिरोले पुरै छोपेर राखेको अवस्था छ।

सातथाप्लेको भान्छा घर
सातथाप्लेमा हामी ३ जना रेडबुल पिउदै  हर्षित मुद्रामा
सातथाप्लेको बन्दाकोपी

बोहरा बडा गाउमा किशोर सर आराम गर्नु हुँदै
बोहोरा बडा गाउको स्याँउ
बोहोरा बडाका नानीहरु स्कूल जान लाग्दै
बोहोरबडा गाउको स्याँउ





No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...