Total Pageviews

Monday, July 17, 2017

Great Himalaya Trail 2016 ( Day-17) Sunkhada To Limle(Humla)

Day-17
Great Himalaya Trail
Sunkhada To Limle

28 July 2016

लिम्ले गाउमा स्थानिय संग गफगाफ गर्ने क्रममा हामी। 

बिशाल भान्जाको मोबाईलको घण्टीले 0600Hrs ब्युँझायो। हेड ल्याम्प बाल्दै बाहिर निस्के। सिमसिम पानी पर्दै थियो।कर्णाली नदी धमिलो थियो। हिलो को गन्ध आउदै थियो। धमिलो पानी माथी सेतो बाफ उड्दै गर्दाको दृष्य लोभ लाग्दो देखिन्थ्यो। कलिलो बिहान उपस्थित भईसकेको थियो। मुख धोएर चुलोमा गए। साहुजी भैसी दुहुनु हुँदै देखिन्थे। सासु र बुहारी चुलामा आगो ताप्दै चिया र तातोपानी तताउदै देखिन्थे। चिया पिउदै गफ गरे। बहिनी दशैमा काठमाण्डु जानु हुन्छ होला भनि सोधे। हजुर दाई जान्छु। तर सासुले तुरुन्तै जवाफ फर्काए। यो जादैन काठमाण्डु अब। यहि बस्छ। हामी संगै। हुम्ली लवजमा भनिन्।  सासुको यस्तो कुरा सुनेर न्याउरो मुख लगाउदै उहाँको फेसिएल रिसले चुर भएको देखिन्थ्यो। तर चुपलागि बसिन्। दुध उम्लिदै थियो। किशोर सर र बिशाल भान्जा पनि मुख धोएर तातो दुध पिउनु भयो। खाजा वाई वाई खायौ। रुपैयाँ 4500 तिरी 0745Hrs बाटो लाग्यो ।

सिमसिम पानी पर्दै थियो। पाखा र थुम्का तिर सेतो कुहिरो उड्दै थियो। छाता ओढ्दै कर्णाली नदी खोजतिर हिड्न थाल्यौ । एक घण्टामा लेप्चे पुग्यौ र पहिलो पटक  कर्णालीको झोलुङ्गे पुल तर्यौ । लेप्चेको खोचमा एक होटल रहेछ। चिया पियौ। वाई वाई खाजा खायौ। ठुलो पानी पर्यौ खाजा खादै गर्दा। छाताले थेक्ने भए पछि लाग्यौ कर्णालीको तिरै तिर। पासिनाले ज्यान लुथ्रुक्कै भिजि सकेको  थियो। खोज र गडतिर भएकाले गर्मी हुने नै भयो। वारीपारी सल्ला घारी माथी नाङ्गा अक्कर नियाल्दै लिम्ले पुगि खाना खाने लक्ष्य बोक्दै चुपचाप अगाडी हिड्दै थियौ। घण्टै पिच्छे बिभिन्न नौला धरातलिय स्वरुप नियाल्न पाउदा थकान भुलाउथ्यो ति दृष्यहरुले । किशोर सरको हिजो देखि ब्लिस्टरले हिड्न मा असहज पारिरहेको थियो। कर्णाली अञ्चल नजिक बाट नियाल्ने  र बुझ्ने हुटहुटी भएकाले कष्ठ भए पनि रमाई रहेका थियौ हामी।

लिम्ले गाउमा लखतरान र भोकले हैलम्फु भएर 1300Hrs पुग्यौ। लिम्ले गाऊ सेन्टर भएकाले पसलहरु रहेछ। माध्यामिक बिधालय रहेछ। हामी पुग्दा बिधार्थीहरु भलिबल खेल्दै गरेका देख्यौ। वरिपरि गैयाँ,धान र काउनीको खेतीले गाउको शोभा बढाएको देख्यौ। छेवैमा तर्न नसकिने ठाँडो खोला रहेछ। सिधै पारी सल्ला घारी पुछारमा कर्णाली नदीको आवाज सुन्दै थकित ज्यानलाई चिया पिउदै साहुजी संग गफ गर्दै बस्यौ। साहुनीले खाना पकाउनु हुँदै थियो । किशोर सरको २ वटै खुट्टाको पैतालाको ब्लिस्टरलाई ओखती लगाई दिए मैले। खाना खायौ 1400Hrs । हिड्न मन लागेन् हामीलाई । लिम्लेमा बस्ने सल्लाह भयो। खाना खाए पछि होटलको कोठामा टेण्ट लगायौ सुत्यौ । 1600Hrs ब्युँझ्यौ। चिया पिउदै साहु साहुनी संग गफगाफ गर्दै बस्यौ। साहुको छोरी सि एम ए गरि काठमाण्डु बाट थाई जागिर गरेको १ बर्ष भएछ। उनी संग पसलमा गफ गर्दै फोटो एल्बमहरु हेर्दै बस्यौ। मैले सोधे तपाई बिवाहित कि अविवाहित? अविवाहित । बि एफ त होलान् नी? पहिले काठमाण्डु हुँदा थियो । अहिले छैन् ।


गफगर्दै गर्दा छिमेकी साहुनीकी छोरी कक्षा ६ मा अध्ययरत बहिनी दवाई होला चिलाउनेको दाई? छ पख है भनी मैले । झोलामा भएको मलम झिक्न थाले। पर्यटकहरुले दबाई बोक्दा छन् भन्ने भएकाले स्थानियहरुलाई राम्रो जानकारी रहेछ। हामीलाई बाटामा सोध्थे हामीले दिदै आएका थियौ। चोटपटक,चिलाउने,टाउको दुःखने,ज्वाँरो आउने,खटिरा, पेटदुःखने र पानी सुद्धपार्ने ओखती बोकेका थियौ। घरमा लगेर दलेर फिर्ता ल्याउनु है भनि चिलाउनको मल दिए। गाँजाको झाँङ्ग बारीको ढिलमा धेरै देखिन्थे। पानी परेको थिएन् ।स्थानिय दाईहरु गाँजाको चिलिमको सुर्को लगाउदै धुँवा उडाउदै हामी संग गफगाफ गर्नु भयो। 




 लिम्ले गाऊका स्थानिय संग भलाकुसारी गर्नु हुँदै किशोर सर।


साँझ पर्न लाग्दा मुसलधारे पानी पर्न थाल्यो। अगेनमा आगो ताप्दै गफ  गर्न थाल्यौ। शिक्षक र साहुका छोरा पाहा समाउन गए खोला तिर टर्च लाईट बाल्दै । चिलाउनेको मल माग्न आए ति बहिनी फेरि। साहुनीले भनिन्। हाम्रो पालमा कहिले नुहाउदैन थियौ हामी। चिलाउने कहिले आएन । आजकालका यिनीहरु दिनमा एक चक्की साबुन सकिने गरि नुहाउछन् ।झन चिलाउने आउछ । जवाना सकिएछ । हुम्ली लवजमा भनिन्। हामी मज्जाले हाँस्यौ। मैले हो बहिनी दिनमा एक चक्की साबुन सकाउछौ? हैन नी काकीले गफ दिनु भाँको नि। दिनमा कहि एक चक्की साबुन सकिन्छ। फेरी हामी ति बहिनीको कुराले हाँस्यौ। मल भोलि बिहान ल्याई दिनु है भन्दै दिए मैले। साँझको खाना खायौ। पाहा २ वटा समाएर ल्याए। चिरफार गर्दै पोल्दै थिए। शिक्षक गुल्मी तिर भएकाले । हुम्लीहरु पाखा नखाने चलन रहेछ। भागुतो पनि खाने भन्दै साहुनीले झण्डै बान्ता गरिन्। यि सर पनि के गर्छन् भन्दै साहुनी बाहिर निस्किन्। बिशाल भान्जा र किशोर सर हल्का लोकल चिरिप चिरिप गर्दै थिए। 


लिम्ले गाउका घैयाँ 

No comments:

Post a Comment

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...