आरुको फूललाई सम्झदा आज
शनिवारको दिन हुन्थ्यो।गाईबाख्रा चराउन बार्खान बनमा लैजान्थ्यौ। गाईबाख्रा मुसेखर्की घाँस र सराघारी भित्र रमाईरहेको हुन्थे। हामी उरेन ठेउला ठिटाहरु पारी गैराबारीका डिलमा आरु र आरुबखडाको झ्याङमा चढेर तल्ला गाउका युवतीहरुलाई ढुकेर बसेका हुन्थ्यौ। उनीहरु पनि बख्राहरु धपाउदै बिनायो र मुर्चुङगाको स्वरमा गीत गाउदै हामी भएतिर आउदै हुन्थे। हामीले तिनै आरु र आरुबखडाको फूलहरु टिपेर उनीहरुको शिरमा झार्थ्यौ। ए कति साह्रो हो तिमीहरु के पक्कै बैशले कुतकुताएको हो। यति राम्रो फूललाई टिपेर किन बर्बाद गर्छौ। उनीहरुको मुर्चुङगा र बिनायोको खिरिलो आवाज ठप्पै हुन्थे। नरम गरम अनि कर्के आँखाको हाम्रो हेराईले उनीहरु पनि बिस्तारै नौनी ध्यू बिलाए झै बिस्तारै हामीलाई नरम स्वरमा बोलाउथे झर छिटो आज तिमीहरुले कुन गैरा तिर गाईबाख्रा लगाएका छौ त? उ त्यहि पर पटपटे पाखोमा लगाएका छौ। खै फेरि बजाउन बिनायो र मुर्चुङगाको धुन। खित्का छोडी छोडि हाँस्थे आउदैन है हामीलाई धुन निकाल्न। तर हाम्रो एकोहोर बिन्तिलाई स्विकार गर्दै तिनै धुनमा हामी धुलो उडाउदै नाच्दै भरै गाईबाख्रा घर नल्याईनजेल सम्म नाँच्ने गाउने जिस्कने गर्दै शनिबारको दिनहरु यसरी बित्थे बिगतमा।
No comments:
Post a Comment