Day-40
Phapar Bari -
Ringmo(ShePhoksundo Lake)
फापर बारी - रिङ्मो (सेफोक्सुण्डो ताल)
20 August
2016
धेरैले गुणगान गाएको रारा ताल । धेरैले घुमेको फेवा ताल र अलि अलि सुनेको नेपालको सबै भन्दा गहिरो हिमताल सेफोक्सुण्डो तालमा पुग्दा हर्षले चिच्याँएका थियौ
हामी ।
0630Hrs ब्युझ्यौ । राती मज्जाले सुत्नै सकेनौ । मुसा कराउदै भाग्ने उफ्रिने र हामफालेको
आवजले निन्द्रा खलबलाउने। थाकेको ज्यान भएकाले भुसुक्कै फेरि भुस हुने अनि कोचा कोच सुतेकाले बेमज्जाको सुताई भयौ हैन । निन्द्रा खल्बलियो
हैन। बेरसिलो पारामा चडिबुटीको चिया पिउदै मैले बिशाल भान्जा र किशोर सरलाई भने। ज्यान
मराकमुरुक्क गर्दै होनी अतिनै भयो आज रातीको सुताई बिशाल भाञ्जाले एक घुटको चिया पिउदै भने। GHT को यहि हो बिशेषता दाई चुरोटको धुवाँ उडाउदै किशोर
सरले मन्द मुस्कानमा भने। डाँडा तिर पानी पर्दै गरेको देखिन्थे। वाई वाई खाजा खाई 3960 रुपैयाँ तिर 0730Hrs बाटो
लाग्यौ ।
अक्करको
मुनि काञ्जिरोवा हिमालको शिखर बाट पोखिएका हिउ बाट निर्मित सेफोक्सुण्डो ताल
देख्दा हर्षले मुर्क्षित भएका थियौ नि
हौउ गाँठे हामी।
उकालो ओरालो र भिरालो बाटोमा हिड्दै फोक्सुण्डो खोलाको बगरमा पुग्दा दुई हुल बिदेशी पर्यटकलाई भेट्यौ। नेपाली गाईड भाई संग गफगाफ गर्यौ। हामीलाई पदयात्राको शुवेच्क्षा दिदै छुटिए। 0830Hrs रेची गाउमा पुग्यौ। पारिलो घाम लागेको थियो। टेण्टमा चिया पसल चलाएकी साहुनीलाई वाई वाई बनाउन लगायौ। चिया पिउदै गर्दा रेची गाउको प्रार्थमिक स्कूलमा पढाउनु हुने काठमाण्डु निवासी गुरुआमा हामी संग गफगाफ गर्न आईन्। सुःख दुःखका गफगाफ गर्यौ। गुरुआमाको पेन्सन पाक्न लागेको रहेछ। अजंगको पहाडको खोचमा रेची बस्ती राम्रो लाग्यो।0930Hrs बाटो लाग्यौ । घाम मज्जाले लागेको थियो। पसिनाले ज्यान लुथ्रुक्कै भिजि सक्दा कागमारा र फोक्सुण्डो जाने दोबाटो भेट्यौ। झोलुङ्गे पुलको आडैमा थकाई मार्यौ। बेवारिसे गाँजाको झाँङ प्रशस्त देख्यौ। सैजालमा चिया पिउदै थकान मेटायौ।
भोटे लवजमा साहुनीले भनिन् सरहरु पनि चिया खाने हो? चिया हैन अर्को चाहि खाने हो? सरहरु भएर रक्सी खाने साहुनीले भनिन्। आज स्कूल बिदा रक्सी खादा केहि हुँदै हाँस्दै सरहरुले भने। बजाई दिनुस सर हामीले पनि थप्यौ। सरहरु रक्सीको घुट्का हामी भने खाना ड्याँङ कि ड्याँङ दिन थाल्यौ । 1230Hrs चुनुवार बाट बाटो लाग्यौ। घाम सिधै झरिरहेको थियो। हावा बेतोडले चलिरहेको थियो। कतै कतै ठाउमा हामीलाई धकेलेको जस्तो लाग्थ्यो। उकालो बाटोमा खुईयाँ गर्दै उक्लदा भ्यू टार देख्यौ। सेफोक्सुण्डो खोलाको पानीको मुस्लो झरेको देख्दा खुशीले मुर्क्षित भयौ। खुशीले चिच्यायौ। फोटो खिच्यौ। राँगे राँगे पहाड नजिक बाट देखिन्थ्यो। भ्यूटावर बाट अविरल खसेको झरना तल देखिन्थ्यो भने सिधै पर नियाल्दा अचल भएर निलो सेफोक्सुण्डो ताल र राँगे राँगे देखिने पर्वतमाला आँखै भरि देखिदो रहेछ भन्दै वाई वाई को साथमा चक्लेट खादै 30मिनेट थकाई मार्यौ। अवको बाटो भने सिधै तेर्स्रो रहेछ भन्दै गफिदै लेकाली वातावरणमा रमाउदै रोजेको खोजेको सेफोक्सुण्डो ताल नजिक आईपु्ग्यो भन्दै ठट्टा गर्दै 1500Hrs बजे रिङ्मो गाउमा पुग्यौ।
डोल्पाको
सेफोक्सुण्डो तालको सुन्दरता देखेर मख्ख र दंग भएका थियौ। फोटो र भिडियो हेरेको
भन्दा आज आफै यस ठाँउमा आईपुग्दा खुशीले सातोनै गयो भन्दै जोग हान्दै फोटो खिच्दा
। नेपालको सबै भन्दा गहिरो ताल ।
होटल लामा मा झोला बिसायौ। चिया पिउदै थकान मेटायौ।वाई वाई खाजा बनाउन लगायौ। खुलेको दिन थियो। नाँगा पाखामा घामको ओझेल लागेको देखिन्थ्यो।वाई पाक्दै गर्दा वरिपरिका गाउको आगन तिर घुम्न निस्क्यौ। लहलह भएको आलु बारी टन्न देख्थ्यौ। आलुको बोट घुँडा भन्दा अग्लो देखिन्थे। चार पाँच घरको आगन डुले पछि वाई वाई खानका लागि फर्क्यौ। वाई वाई बजाए पछि क्यामरा लिई सेफोक्सुण्डो तालको किनारी तिर निस्क्यौ। फोटो खिच्यौ। ढलपल नगरी बसेको निलो ताल रहर पुगुञ्जेल हेर्यौ पलेटी कसेर।
तालको किनारी बाट फर्कदा टेण्ट टाँगेर चिया पसल खोलेकी शेर्पेनी सोल्टेनीले जाडो र हावा चल्दै छ । चिया खाना आउनुहोस भन्दै डाकिन् शेर्पा लवजमा । हाँस्दै हामी ३ हलभाई चिया पिउन छिर्यौ। न्यानो टेम्बु भित्र गफगाफ गर्दै दुई दुई कप भोटे चिया दनकायौ। सिजनमा रिङ्मोमा चिया पसल खोल्छु बेसिजनमा दुनैमा जाने गर्छु। (सेफोक्सुण्डो तालको वरिपरि भएको बस्तिलाई रिग्ङमो गाउ भनिदो रहेछ)। बिहे भयो ? पैसा कमाए पछि मात्र बिहे गर्ने हाँस्दै उत्तर दिईन्। त्यो पनि ठिक बिचार हो हामीलई थप्यौ हाँस्दै। ५०० रुपैयाँ दिई होटल तिर फर्क्यौ। घाम डुबि सकेको थियो। सिउ सिउ जाडो बढ्न थालेको थियो।
आगनमा निकुञ्जका रेञ्जरले केरकार गर्दै गरेका देख्यौ। मोटर साईकलको ब्रेकको तारको गुजिल्टा र एउटा कस्तुरी पासोमा परेको कुरा सुनौ। लामा होटलको घर बनाउदै गरेका ३ जना कर्मीहरुलाई सोधपुज गर्दै गरिरहेका थिए। साँझको खाना ७ बजे खायौ। बिस्तारमा ढल्कदा ८ बजेको थियो। झ्याँप्पै निदाए छौ। साँझको १०बजे घोडा हिडेको घण्टीले ब्यूँ झिए म । हल्ला गर्दै ल सभासद आउदै छ । खाना र भाले काट्नु पर्यौ भन्ने सुनियो ।आज घेरै हिडियो भन्दै सभासद धन बहादुर बुढाको आवाज सुनियो। ल बधाई छ मित बाउ तपाईहरुले मलाई भोट दिएर जिताई दिनु भयो धेरै धन्यवाद । ब्यस्त भएर आउन पाईन्। माथिल्लो डोल्पा हुँदै आज १ महिमा रिङ्मो आईपुग्यो भन्दै धन बहादुर बुढाको थकित आवाजको लवज सुनिन्थ्यो। निक्कै हल्ला खल्ला गर्दै गफ गर्दै थिए। ज्यान थाकेर होला फेरि म भुसुक्कै निदाए छु।
थकित मुद्रामा बिशाल भान्जा र किशोर सर
झरना होटलको क्याम्पिङ गर्ने चौउर
भ्यूटावर बाट देखिने बिशाल अक्कर
उकालो बाटो मा कछुवाको गतिमा हामी
भ्यू टावर बाट देखिने नाङ्गा पहाडको श्रृखला
चारै तिर यस्ता दृष्य देख्दा हर्षित भएा थियौ।
बिशाल भान्जा थकित मुद्रामा फोक्सुण्डो झरना नियाल्नु हुँदै
फोक्सुण्डो झरना
भ्यू टावर बाट नियाल्दा
वाँ क्या दामी वतावरण भन्दै मख्ख भएका थियौ।
सेफोक्सुण्डो ताललाई लुकाएर राख्ने यि बाँधका दृष्यलाई नियाल्दा
रिङ्मो गाउमा पुग्न लाग्दा लोभ लाग्ने जंगलको बिच बाट बग्दै सेफोक्सुण्डोको सङ्लो पानी









No comments:
Post a Comment